जनकपुरधाम उपमहानगरपालिकाले वडा कार्यालयमार्फत फोहोर व्यवस्थापन गर्ने

जनकपुरधाम, १० जेठ । जनकपुरधाम उपमहानगरपालिकाले वडा कार्यालयमार्फत फोहोर व्यवस्थापन गर्ने भएको छ ।
नवनिर्वाचित नगरप्रमुख मनोज कुमार साहले पदभार ग्रहण गरेपश्चात मंगलबार जनकपुरधामको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने पहिलो निर्णय गरेका हुन् ।
उपमहानगरभित्र हाल सरसफाइको कार्य नगरकार्यपालिकाको कार्यालयद्वारा भइरहेकोमा अब उप्रान्त नगरका सबै वडाहरुमा आवश्यक जनशक्ति तथा सरसफाइका साधन उपलब्ध गराई विकेन्द्रित रुपमा सम्पन्न गर्ने र यसका लागि २५ वटै वडा कार्यालयहरुलाई सरसफाइको जिम्मेवारी प्रदान गर्ने नगरप्रमुख साहले निर्णय गरेका छन् ।
फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाका सबै वडा कार्यालयलाई टयाक्टर र सरसफाइ कर्मचारी उपलब्ध गराइने निर्णय नगरप्रमुख साहले गरेको प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्याले बताए ।
त्यस्तै उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित शाखाको काम सम्बन्धित कर्मचारीबाट गराउने निर्णयसमेत मेयर साहले गरेका छन् ।
जनकपुधाम उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयका महाशाखा, शाखाहरुमा सम्बन्धित विषय विज्ञहरुलाई व्यवस्थापन गर्नुका साथै जुन कार्यका लागि जसलाई नियुक्त गरिएको हो सोही कार्य गर्ने गरी उनलाई व्यवस्थापन गरिने प्रमुख प्रशासकीय अधिकृत उपाध्याले बताए ।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले सम्पन्न गर्ने कार्यहरु थप पारदर्शी, निष्पक्ष, उत्तरदायी र सुशासनयुक्त बनाउनका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णयसमेत नगरप्रमुख साहले गरेका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


