काठमाडौं, १० जेठ । इन्धनको मूल्यवृद्धिलाई लिएर प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

नेकपा एमाले र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसदमा छलफल गर्न माग गर्दै प्रस्ताव दर्ता गरेका हुन् ।

एमालेका मुख्य सचेतक विशाल भट्टराई प्रस्तावक रहेको प्रस्तावको समर्थकमा एमाले सांसद यज्ञराज सुनुवार र गणेश पहाडी तथा राप्रपाका राजेन्द्र लिङ्देन छन् । मुख्य सचेतक भट्टराईले प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई उक्त प्रस्ताव बुधबार बुझाएका हुन् ।

प्रस्तावमा मूल्य स्वचालित कार्यविधिको प्रावधानविपरीत पेट्रोलियम पदार्थको मूल्य बढाइएको भन्दै फिर्ता लिन माग गरिएको छ ।