धरान, ८ जेठ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई साम्पाङ निर्वाचित भएका छन् ।

सुनसरीको धरानमा आइतबार सम्पन्न मतगणना अनुसार ३९ वर्षीय स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मतसहित मेयरमा जित निकालेका हुन् ।

उनले गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७ सय ६२ मतको अन्तरले पराजित गरेका हुन् । राईले १६ हजार ५० मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेकी मञ्जु भण्डारी १२ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा सीमित भइन् । उनी २०७४ को निर्वाचनमा एमालेबाट धरानको उपमेयरमा विजयी भएकी थिइन् ।

यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार आइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित विजयी भएका छन् । उनले नेकपा एमालेका पदमप्रसाद लिम्बुलाई २ हजार ९०४ मतको अन्तरले पराजित गरे । लिम्बूले १७ हजार ६०६ मत पाएका थिए ।