सिरहा, ८ जेठ । सिरहामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी बुवा र छोराको हत्या गरेको छ ।

घरमा सुतिरहेको अवस्थामा अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरका करिव ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्त कुमार पालको हत्या गरिएको हो ।

सन्तको विवाह जेठ ११ का लागि तय भएकाले स्थानीय महिलाहरु विवाह गीत गाएर आ–आफ्नो घर गएपछि बुवा छोरा करिव १२ बजे सुतेका थिए ।

छुट्टाछुट्टै कोठामा सुतेका बुवा र छोराको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने बताए ।

उनले प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको र यसका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिइएको जानकारी दिए ।