पर्सा, ७ जेठ । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ हजार ३५२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले १४ हजार ७०५ मतसहित प्रतिस्पर्धामा छन् ।

यसैगरी उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कूल १९ हजार ९०२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उनका प्रत्यासी लोसपाका नेता पुरुषोत्तमलाल झा ४ हजार ४२३ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

महानगरमा हालसम्म विभिन्न १५ वडाको मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरमा अन्य वडाको मतपरिणाम आउन बाँकी रहेको छ । मतणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक साता लाग्ने बताइएको छ ।

महानगरको नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो ।