हेटौंडामा एमालेको तीन दशकको लामो विरासत भत्कियो

हेटौंडा, ७ जेठ । नेकपा एमालेको लालकिल्लाका रूपमा रहेको हेटौंडा उपमहानगरपालिकामा यसपालि एमालेका उम्मेदवारहरु पराजित भएका छन् ।
नेकपा एमालेबाट विभाजित भई गठित एकीकृत समाजवादीकी मीनाकुमारी लामाले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट जित हासिल गरेसँगै एमालेको तीन दशक लामो विरासत भत्किएको हो ।
सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीकी लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँलाई उम्मेदवार बनाएको थियो । मेयर र उपमेयरमा दुबै गठबन्धनले जितेको छ ।
बहुदल स्थापनापछिको पहिलो स्थानीय निकाय निर्वाचन २०४९ र दोश्रो निर्वाचन २०५४ मा एमालेले मेयर तथा उपमेयरसहित अधिकांश वडामा जित हासिल गरेको थियो ।
संघीय लोकतन्त्र नेपालको स्थापनापछि भएको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा पनि एमालेले एकलौटी रूपमा हेटौँडाको मेयर÷उपमेयरसहित १२ वटा वडाध्यक्ष जितेको थियो ।
तर, २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेले मेयर÷उपमेयरसहित पहिले जितेको तीनवटा वडाध्यक्ष पनि गुमाएर जम्मा ९ वडामा मात्र सीमित हुन पुगेको छ ।
हेटौंडाको अन्तिम मतपरिणामअनुसार लामा विजयी हुँदै हेटौंडा नगरको पहिलो महिला मेयरको इतिहास रच्न सफल भएकी छन् । उनले नेकपा एमालेका अनन्तप्रसाद पौडेललाई पराजित गरेकी हुन् ।
विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पौडेलले २० हजार ९०८ मत ल्याए । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह २० हजार ५३१ मत ल्याए ।
उपमेयरमा कांग्रेसका बानियाँ ३२ हजार ५९३ मत प्राप्त गर्दै विजयी बने । बानियाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०६ मत ल्याउँदा तेश्रो स्थानकी राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ४८६ मत ल्याइन ।
मतगणनाको सुरुवाती अवस्थामा पहिलो, दोस्रो भएर चर्चामा मेयरका उम्मेदवार राप्रपाका सिंह अन्तिम परिणाममा तेस्रो रहे भने उपप्रमुखमा राप्रपाकी इन्दिरा डल्लाकोटी पनि तेस्रोमै सिमित भइन् ।
१९ वटा वडा रहेको हेटौंडामा एमालेले ९ वडा जितेको छ भने कांग्रेसले ८, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले १/१ वडामा जितेको छ ।
हेटौंडामा नेपाली कांग्रेसबाट हेटौंडा–१ मा सविन न्यौपाने, हेटौंडा–२ मा विष्णुगोपाल महर्जन, हेटौंडा–३ मा ढलक थापा, हेटौंडा–६ मा विष्णुप्रसाद दाहाल, हेटौंडा–७ मा दामोदर गौतम, हेटौंडा–८ मा राम थापा, हेटौंडा–१६ मा रामकृष्ण कोइराला र हेटौंडा–१७ मा उद्धव सत्यालले जितेका छन् ।
नेकपा एमालेबाट हेटौंडा–४ मा नवीन सिग्देल, हेटौंडा–५ मा सुशील घिमिरे, हेटौंडा–१० मा फुर्वादोर्जे लामा, हेटौंडा–११ मा जुना दंगाल, हेटौंडा–१३ मा पेम्बा लामा, हेटौंडा–१४ मा दिपक खड्का, हेटौंडा–१५ मा सुनिल मोक्तान, हेटौंडा–१८ मा अनिल बानियाँ र हेटौंडा–१९ मा नरनाथ सुवेदीले जितेका छन् ।
नेकपा माओवादी केन्द्रबाट हेटौंडा–१२ मा ललित घलान र हेटौंडा–९ मा नेकपा एकीकृत समाजवादीका सुकराम केसीले जितेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


