जनकपुरधाम, ७ जेठ । नेकपा एमालेका सचिव समेत रहेका प्रभावशाली नेता रघुवीर महासेठको गृहनगरमा एमालको पत्ता साफ भएको छ ।

महासेठको घर रहेको धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

काँग्रेसका राजेन्द्र प्रसाद यादव ४ हजार ३०४ मत ल्याएर मेयरमा विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निवर्तमान मेयर अनिलकुमार यादवलाई २१० मतको अन्तरले पराजित गरेका हुन् ।

निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर यादवले ४ हजार ९४ मत मात्र ल्याउन सकेका छन् ।

त्यस्तै, उपमेयरमा नेकपा माओवादी केन्द्रकी शोभादेवी साह विजयी भएकी छन् ।

उनले ३ हजार ३३० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २ हजार ७९७ मत प्राप्त गरेकी छन् ।

१० वटा वडा रहेको मिथिला बिहारी नगरपालिकाको एउटा वडा समेत एमालेले जित्न सकेन ।

२०७४ को निर्वाचनमा सो नगरपालिकामा एमालेले मेयर उपमेयरसहित केहि वडाहरु पनि जितेको थियो । यस नगरपालिकाको वडा नम्बर–३ मा एमाले नेता रघुवीर महासेठको पुख्र्यौली घर रहेको छ ।