जनकपुरधाम, ७ जेठ । कुनैपनि स्थानिय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि दुई जनाको आवश्यकता पर्दछ । उम्मेदवारी दर्ता गराउने फर्ममा एक जना समर्थक र एक जना प्रस्तावक भएको खण्डमा मात्रै उम्मेदवार बन्न योग्य मानिन्छ । तर धनुषामा एक जना उम्मेदवारले निर्वाचनमा एक मत मात्र प्राप्त गरेपछि उम्मेदवारको नाता गोता वा आफन्त र समर्थक प्रस्तावकले समेत मत नदिएको पाइएको छ ।

निर्वाचनमा कतिपय अवस्थामा उम्मेदवारहरुले स्वतन्त्र उम्मेदवारको साधन स्रोत उपभोग गर्नका लागि स्वतन्त्र उम्मेदवार बनाउने गरिएपछि दलिय उम्मेदवारले एक मत पाएको सुनेर आश्र्च लाग्न सक्ला । त्यो पनि राजनितिक दलका उम्मेदवारलाई ।

नेकपा एककृति समाजवादी पार्टीबाट धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष पदका उम्मेदवार परमेश्वर कापडिले सार्वजनिक भएको मतपरिणाममा एक मत मात्रै प्राप्त गरेका छन ।

सो वडामा नेपाली काग्रेसका उम्मेदवार जयनारायण कापडिले १ हजार १७५ मत प्राप्त गरि विजयी भएका छन । १ मत प्राप्त गर्ने कापडि त्रिभुवन विश्व विद्यालय अन्र्तगत केन्द्रिय मैथिली विभागका पुर्व विभाग प्रमुख रहेर अवकास पाएका छन ।

नेपाल पत्रकार महासंघ सहित करिब एक दर्जन संघसंस्थामा आवद्ध रहेका कापडि मैथिली अभियानी समेत छन् ।

कापडिले आफ्नो गाउँको विकास गर्नुपर्छ भन्ने सोचका साथ स्थानिय तहको निर्वाचनमा होमिएको बताए । तर निर्वाचनमा केही गलत कार्यहरु हुन थालेको देखेपछि आफुले निर्वाचनमा नसक्ने अवस्था देखेको बताउँदै आफू मौन भएको उनले बताए ।

कापडिले भने, ‘घोषणा पत्र र समाजमा व्यक्तित्वको आधारमा मत दिने प्रचलन नदेखिपछि आफू केही दिन घुमेर अन्त्यमा परिस्थिति अनुकल नदेखेपछि घरमै बसेको थिएँ । निर्वाचन आयोग र पार्टीलाई समेत २३ गते नै आफू उम्मेदवार नरहेको जानकारी गराएको थिए । कति मत आयो त्यो मलाई थाहा छैन । त्यो मत पनि मेरो होइन ।’