उमेश बचाउ अभियानको हरहिसाब सार्वजनिक

जनकपुरधाम, ५ जेठ । पाकिस्तानी नागरिकको हत्या आरोपमा १४ वर्ष साउदमै जेलमा रहेका उमेश यादवलाई घर फर्काउनका लागि लागेको खर्चको हरहिसाब सार्वजनिक गरिएको छ ।
उमेश बचाउ अभियानको नेतृत्व गरेका सरोज रायले उमेश घर फर्केको २ वर्षपछि एक पत्रकार सम्मेलन गर्दै सो अभियानमा लागेको खर्चको हरहिसाब सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको हिसाब अनुसार उमेश बचाउ अभियानमा कुल ५० लाख ७० हजार ९६१ रुपैयाँ खर्च भएको थियो । जबकि सो अभियानका लागि कुल ५८ लाख ४४ हजार ६४१ रुपैयाँ संकलन गरिएको थियो ।
रायका अनुसार अभियानको क्रममा संकलन गरिएको रकममध्ये ७ लाख ७३ हजार ६७९ रुपैयाँ अझै पनि ग्रोविङ्ग नेपाल फाउण्डेशन नामक संस्थाको खातामा रहेको जानकारी दिए । यद्यपि सो संस्थाको अडिट नगरिएकोले संस्थाको खाता चालु अवस्थामा नरहेको उनले बताए ।
रायले सार्वजनिक गरेको खर्चमा ब्लड मनी वापत पाकिस्तानी नागरिकको परिवारलाई ३० लाख रुपैयाँ, पाकिस्तान तथा साउदी अरब जान आउन पटक पटक गरी लागेको खर्च १२ लाखभन्दा बढी रुपैयाँ, उमेश बचाउ अभियानका लागि देश भित्रै गरिएको खर्च लगायतका खर्चहरु शामिल गरिएको छ ।
आफूले उमेशलाई बचाउनका लागि निस्वार्थ रुपमा लागेपनि विभिन्न टिकाटिप्पणी हुन थालेपछि हरहिसाब सार्वजनिक गरेको उनले बताए । हिसाब सार्वजनिक गर्न ढिलाई भएको स्वीकार गर्दै उनले कोरोना महामारी तथा अन्य अभियानमा लागेकाले ढिलाई भएको स्वीकर गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


