महोत्तरी, ५ जेठ । महोत्तरीको बर्दिबास नगरपालिका–८ को वडाध्यक्ष पदका दुवै उम्मेदवारले बराबरी मत ल्याए पछि गोला प्रथाबाट विजयी घोषणा गरिएको छ ।

गोलाप्रथा गर्दा नेकपा माओवादी केन्द्रका समसेर सिंह विजयी भएका हुन् । मतगणना बाँकी छँदै उनी विजेता घोषणा भएका थिए । उनले विजय उत्सव समेत मनाइसकेका थिए ।

तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न छुटेको भन्दै उक्त मतपेटिकाको मतगणना कार्य अघि बढायो । मतगणनाको क्रममा नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगर र समसेर सिंह दुवै जनाले बराबरी मत (७६७) पाए ।

बराबरी मत आएपछि गोलाप्रथा गर्दा अन्ततः समसेर सिंह नै भाग्यमानी ठहरिए र उनको खुशीमा पूर्ण विराम लागेन ।