मतपरिणाम घोषणा गरेपछि बर्दिबासमा गणना नगरिएको मतपेटिका भेटियो

महोत्तरी, ५ जेठ । महोत्तरीको बर्दिबासमा मतपेटिका नखोल्दै मत परिणाम घोषणा गरिएको भेटिएको छ । तीन दिन अगाडि बर्दिबास नगरपालिका–८ को मतपरिणाममा निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले माओवादी केन्द्रबाट शमशेरसिंह लामा विजयी भएको घोषणा गरेका थिए ।
मतगणनामा धाँधली भएको एमालेले आरोप लगाइरहेका वेला सिल नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । निर्वाचन अधिकृत सापकोटाले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट लामाले ८ मतले उछिन्दै एमालेका रुद्र किङरिङलाई पराजित गरेका थिए ।
यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा राख्ने क्रममा त्रुटि भएको जनाएको छ । वडा नम्बर–८ को मतपेटिका मतदान अधिकृतले दिएको जानकारीअनुसार नै रुजु गरियो र सबै मतपेटिका एकै ठाउँमा राखेका थियौँ, सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले भनिन् । उनका अनुसार सर्वदलीय बैठक राखेर यसको समाधान खोजिने छ ।
फूलमाला र अविरसहित विजयी जुलुस मनाइसकेको माओवादी भने निर्वाचन आयोगको त्रुटिलाई स्विकार्ने अवस्थामा छैन । माओवादी केन्द्र प्रदेश कमिटी सदस्य राजन ढुंगनाले भेटिएको मतमेटिकालाई खोलेर पुनः मतगणना गर्नु कुनै अर्थ नरहेको बताए । निर्वाचन आयोगले माओवादी केन्द्रका शमशेरसिंह विजयी भएको घोषणा गरेसँगै निर्वाचन आयोगले समेत त्यसलाई प्रमाणीकरण गरिसकेको छ अनि मतपेटिका खोलेर मतगणना गर्नुको के नै अर्थ रह्यो र ? ढुंगानाले प्रतिप्रश्न गरे ।
निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने मानवीय भूललाई स्वीकार गरेर समाधानको निकास निकाल्नेमा आफू विश्वस्त रहेको जनाएको छ । बर्दिबास नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी नै छ । वडा नम्बर–९ को मतगणना सकिएपछि अन्तिम मतपरिणाम सार्वजनिक हुने पर्खाइमा बसेका सर्वसाधारण वडा नम्बर–८ विवाद नसुल्झिएसम्म प्रतीक्षामा रहनुपर्ने देखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


