मतगणनामा धांधली भइरहेको एमाले नेता महासेठको आरोप

जनकपुरधाम, ४ जेठ । नेकपा एमालेका सचिव रघुवीर महासेठले गता बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन शान्तिपुर्ण भएपनि मतगणनामा धांधली भएको आरोप लगाएका छन् ।
मधेश प्रदेशका इन्चार्ज समेत रहेका महासेठले बुधवार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचनमा मतगणनामा निर्वाचन अधिकृतहरुले सत्ता गठबन्धनलाई जिताउन धांधली गरिरहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘निर्वाचनमा नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै एमालेलाई हराउन स्थानीय निर्वाचनलाई सत्ता कब्जा गर्ने माध्यम बनाएको छ ।’
महासेठले निर्वाचन सम्बन्धी नेपालको इतिहासमै कहिले नभएको निर्णयहरु यस पटक भएको आरोप लगाएका छन् । उनले सत्तारुढ गठबन्धनले एमालेलाई हराउन खसेको मतपत्रभन्दा बढी मत फेला परेपनि त्यसलाई सदर गिन्ती गर्ने लगायतका निर्णय गरिएको आरोप समेत लगाए ।
उनले मधेस प्रदेशका धनुषा, सर्लाही, रौतहट, महोत्तरी, पर्सा, सिरहा र सप्तरी सहितका अधिकांश जिल्लामा मतपेटिका भित्र बढी मतपत्र भेटिनु, कांग्रेसका लागि रि–काउन्टिङ गर्नु र अन्य दलले रि–काउन्टिङको माग गर्दा नगर्नु लगायतका क्रियाकलापले सत्ता गठबन्धनका प्रमुख दल काँग्रेसलाई जिताउन षडयन्त्र भइरहेको आरोप लगाए ।
महासेठले रौतहटमा एमाले पक्षका १२ मतदान केन्द्रमा मतदान रद्द गराउनु, सर्लाहीको कौडेना, धनकौल, बागमती, बलरा र बरहथवामा एमाले कार्यकर्तामाथि आक्रमण गरी बुथ कब्जा गर्नु, धनुषाको धनौजी, क्षिरेश्वरनाथ र मिथिला बिहारी सहितका पालिकामा खसेको भन्दा बढी मत भेटिनु भनेको एमालेलाई हराउन सत्तारुढ गठबन्धन दलबाट धांधलीको संकेत रहेको जिकिर समेत गरे ।
उनले सत्ताको दुरुपयोग गरी कांग्रेसले एमालेबाट धनगढी नगरपालिकाका जितिसकेको घोषणा भइसकेका उम्मेदवार हराएर आफ्ना उम्मेदवारलाई जिताउनु, जित्न लागेका एमालेका उम्मेदवारहरुलाई १०÷१० मतको अन्तरले जबर्जस्ती हराउनु लगायतका क्रियाकलाप अनुचित रहेको भन्दै मतपत्र बढी भेटिएका कारण मंगलवार बिहानैदेखि स्थगित गरिएको मतगणना सुचारु गर्न माग गरे ।
महासेठले गठबन्धन सरकारले अविलम्व यस्ता क्रियाकलाप बन्द नगरे आफूले कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


