जनकपुरधाम–४ स्थित एक घरमा लुटपाट पछि आगजनी, ५० लाख बढीको क्षति

जनकपुरधाम, ४ जेठ । अज्ञात समूहले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित एक घरमा लुटपाट गरी आगजनी गरेको छ ।
अज्ञात समूहले कटैया चौरीस्थित स्थानीय मनोज साहको घरमा लुटपाट गर्दै आगजनी गरेको हो ।

साहको घरमा मनरा शिस्वा नगरपालिका–९ बथनाहाका राजकुमार झा परिवार सहित बस्दै आएका थिए ।
आगजनीमा परी तीन वटा एसी, फ्रीज, लत्ताकपडा, अलमिरा , सोफासेट, एलईडी लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । आगजनीमा कोठाको झ्याल , ढोका भेन्टिलेटर लगायतका सामानहरु समेत जलेको छ ।

आगजनी अघि अज्ञात समूहले मेडिकल व्यवसायी झाको डेढ लाख नगद , पाँच तोला सुनको गहना , १० तोला चांदीको गहना तथा केही अन्य सामानहरु चोरेर लगेको छ ।
घटना राती भए पनि बुधवार बिहान मात्रै स्थानीयवासीले देखेपछि झाको परिवारजनलाई खबर गरेका थिए ।

झा अहिले भारत तर्फ तीर्थयात्रामा गएको बेला घरमा कोही नरहेको समयमा बाहिर ग्रीलको ताल्चा काटेर भित्र पट्टि फ्ल्याटको ढोका तोडेर लुटपाट मचाउँदै आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


