प्रचण्डको निर्वाचन क्षेत्रमा एमालेकी ताराकाजी निर्वाचित

चितवन, ३ जेठ । चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी छन् ।
उनले पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई २ हजार १७२ मतान्तरले पराजित गरेकी हुन् ।
मेयरमा निर्वाचित महतोले ९ हजार ९०१ मत प्राप्त गर्दा काफ्लेले जम्मा ७ हजार ७२९ मत मात्रै प्राप्त गरे । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए ।
उपमेयरमा भने कांग्रेसका खेम महतोले ६ हजार ८३० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले ५ हजार १४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले ३ हजार ८६ मत ल्याए ।
एक कार्यकाल उपमेयर भएर काम गरेकी ताराकाजी महतो शालिन र लोकप्रिय नेतृ हुन् । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै राजनीतिमा प्रवेश गरेकी महतो माडीका विभिन्न वडामा १२ वर्ष वडा सचिव र पाँच वर्ष उपमेयर भएर काम गरिन् ।
माडीमा लोकप्रिय मानिने महतो, यहाँका आदिवासी, महिला, दलित, अल्पसङ्ख्यकलगायत माडीवासीको समस्या र पीडाको बारेमा जानकारी राख्छिन् । सरल, मिठो बोली र सबैको कुरा ध्यानपूर्वक सुन्ने, सहमति र समन्वयबाट विकासका काम गर्नुपर्छ भन्ने मान्यता उनी राख्छिन् ।
लगातार रुपमा वडा अध्यक्ष पद गुमाउँदै गएको एमालेले अन्तिम चरणमा मेयर र वडा नम्बर ६ मा जित हात पारेको हो । वडा नम्बर ६ मा एमालेका दीपेन्द्रराज पौडेल निर्वाचित भएका छन् ।
माओवादी केन्द्रले माडी–२, ४, ५ र ९, राप्रपाले माडी–१ र ८ र एकीकृत समाजवादीले माडी–३ र ७ मा विजय हात पारेको हो । माडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को निर्वाचन क्षेत्रमा पर्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


