चितवनमा एकीकृत समाजवादीले खाता खोल्यो, चन्द्रकुमारीले जितिन् वडाध्यक्ष

चितवन, २ जेठ । चितवनका ९८ वटा वडामध्ये २८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । चितवनमा नेकपा (एकीकृत समाजवादी)ले विजयको पहिलो खाता खोलेको छ । माडी नगरपालिका–७ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट एकीकृत समाजवादीकी उमेदवारको विजय भएको हो ।
वडाध्यक्ष जित्नेमा समाजवादीकी चन्द्रकुमारी बानिया पहिलो महिला बनेकी छन् । जिल्लामा हालसम्म सार्वजनिक भएका वडाहरुको विवरणमा कोही पनि महिलाले वडाध्यक्ष जितेका छैनन् । बानियाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णु प्रसाद आचार्यलाई ३५ मतान्तरले पराजित गरेकी हुन् ।
बानियाले ७९६ मत प्राप्त गर्दा आचार्यले ७६१ मत प्राप्त गरे । एमाले विभाजनपछि बानिया समाजवादीतिर लागेकी थिइन् । माडीका ९ वडामध्ये अहिलेसम्म पाँच वडाको मतपत्र गनेर सकिएको छ । अब ३, ४, ५, ८ को मतपत्र गन्न बाँकी छ ।
माडीको मेयरमा भने एमालेकी ताराकुमारी काजी महतोले निरन्तर अग्रता लिइरहेकी छन् । एमालेकी महतोलाई गठबन्धनतर्फका मेयरका उमेदवार माओवादी केन्द्रका ऋषी काफ्ले पछ्याइरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


