जनकपुरधाम, २ जेठ । धनुषामा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

सोमवार बिहान मिथिला नगरपालिका वडा नम्बर–६ ढल्केवरमा सोही ठाउँ बस्ने २५ बर्षीय विनोद कुमार यादवको शव फेला परेको हो ।

ढल्केवर–जनकपुरधाम सडकखण्ड अन्तर्गत ढल्केवरस्थित मिथिला हार्डवेयरको पछाडीको बगैचामा रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा यादवको शव फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।

प्रहरी निरीक्षक सिंहले घटनास्थलको प्रकृति हेर्दा युवकले आत्महत्या गरेको देखिएको र प्रारम्भिक अनुसन्धानबाट प्रेम सम्बन्धको विषय बाहिर आएको बताए ।

घटना सम्बन्धमा थप अनुसन्धानका लागि प्रहरीले दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छन् ।

युवकको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।