महोत्तरी, ३१ बैशाख । महोत्तरीको मनरा सिस्वा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालका एक नेताको घरमा अज्ञात समूहले आगजनी गरेको छ ।

शुक्रबार राति वडा नम्बर–९ बस्ने जसपाका महोत्तरी जिल्ला सह–सचिव सरवेश झाको घरमा अज्ञात समूहे आगजनी गरेको हो ।

आगजनीमा परी उनको घरको बराम्दामा पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेटको होण्डा साइन मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ भने घरको छानोमासमेत आगो लागेको छ ।

घरका सदस्यहरु रातिको समयमा जाग्राम रहेकोले थप क्षति हुनबाट जोगिएको पीडित झाले बताए ।

उनले भने,‘मतदानको दिन थियो ,कसैले षडयन्त्रपूर्वक मलाई मार्ने प्रयासमा घरमा आगजनी गरेको हो । दोषीमाथि कडा कारवाहीको माग गर्दछु ।’

आगालागीका कारण मोटरसाइकल सहित करिव डेढ लाख भन्दा बढीको क्षति भएको पीडित झाले बताए ।