काठमाडौं, ३० बैशाख । स्थानीय निकायको निर्वाचन पर्यवेक्षण गरेको युथ एड्भोकेसी नेपाल ‘यान’ले निर्वाचन आयोगलाई भयरहित निर्वाचनको लागि आग्रह गरेको छ ।

देशका २३ जिल्लामा परिचालन गरेको ९४ पर्यवेक्षक सदस्यबाट प्राप्त सुचना तथा तथ्यको आधारमा निर्वाचनलाई थप मर्यादित बनाउन ‘यान’ले आग्रह गरेको हो ।

निर्वाचन पर्यवेक्षणबारे ७ बुँदे प्रारम्भिक तथ्यलाई उल्लेख गर्दै उच्छृंखल गतिविधि गर्ने तथा मतदान प्रक्रिया अवरुद्ध, सामान्य झडप, तोडफोड, कुटपिट, मतपेटिकामा आक्रमण गर्नेलाई प्रचलित निर्वाचन कानुन तथा आचारसंहिता अनुरुप कारवाही गर्न आग्रह गरेको छ ।

देशका कतिपय स्थानमा भएका हिंसात्मक क्रियाकलापको कारणले निर्वाचन पर्यवेक्षकहरुमा त्रासको अवस्था देखिएको युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

खतिवडाले आगामी दिनमा हुने निर्वाचनलाई थप स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउनका लागि सरोकारवाला निकायलाई संवेदनशील भुमिका खेल्न आग्रहसमेत गरेका छन् ।