जनकपुरधाम, २९ बैशाख । महोत्तरीमा दुईक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

बिहीबार बिहान जग्गाको विषयमा दुईपक्षबीच विवाद भई झडप हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

औरही नगरपालिका–२ बस्ने चन्देश्वर साह र राम जिवन यादव पक्षबीच झडप हुँदा स्थानीय चन्देश्वर साहकी ६५ वर्षीया पत्नी राजकुमारी देवी साह र उनका ३५ वर्षीय छोरा रामसिकिल साह गम्भीर घाइते भएका छन् ।

दुवैजनालाई उपचारको लागि धरान पठाइएको छ भने अर्को पक्षका ५५ वर्षीय रामजीवन यादव, उनका भाइ ५० वर्षीय रामचन्द्र यादव र २१ वर्षीय विजयकुमार यादव सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

उनीहरुको औरहीस्थित राधा कृष्ण क्लिनिकमा उपचार भइरहेको उनले बताए ।

उनीहरूबीच जग्गाको विषयलाई लिएर विवाद हुँदा झडपको स्थिति सिर्जना भएको मिश्रले जानकारी दिए ।