सिरहामा मतदातालाई पैसा बाँड्ने माओवादीका एक कार्यकर्ता पक्राउ

सिरहा, २८ बैशाख । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई स्थानीयले पक्राउ गरेका छन् ।
मौन अवधिमा मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका–२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् ।
पक्राउ परेका लामाको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।
स्थानीयले लामालाई नियन्त्रणमा लिई गोलबजार प्रहरीको जिम्मा लगाएका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको जनाए ।
गोलबजार नगरपालिकामा माओवादीबाट मेयरमा देवनाथ साह उम्मेदवार बनेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


