जनकपुरधाम–१० मा सुशील, अमर र गणेशबिच त्रिपक्षिय प्रतिस्पर्धा

जनकपुरधाम, २७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनको तीन दिन मात्र बाँकी छ । चुनावी प्रचारप्रसारको मंगलबार अन्तिम दिन रहेको छ । मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ ।
स्थानीय निर्वाचनको सरगर्मी सबैभन्दा बढी मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा केन्द्रित रहेको देखिन्छ ।जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर–१० मा पनि चुनावी माहौल तातिएको छ ।
मतदाता रहेको वडा नम्बर–१० को वडाध्यक्ष पदका लागि करिब एक दर्जन उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमध्ये सबै भन्दा बढी चर्चा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार यूवा नेता सुशील कुमार कर्णको देखिन्छ ।
सुशीलले एक स्वतन्त्र यूवाको रुपमा आफ्नो पहिचान स्थापित गर्दै सामाजिक, राजनीतिक तथा विकास निर्माणका कार्यमा सक्रियतापूर्वक समाजको हितमा ध्यान केन्द्रित गर्दै आएका छन् ।
यसअघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी झिनो मतान्तरले पराजित भएका थिए । पुनः २०७९ को निर्वाचनमा उनी जनकपुरधाम उपमहानगरमै चर्चाका पात्र बनेका छन् ।
उनलाई सीको समेत व्यापक समर्थन प्राप्त भइरहेको सोही वडाका एक युवा रोशन मण्डलले बताए ।
सुशील कर्ण विगतमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट वडाअध्यक्षमा लडेका थिए । त्यति बेला उनी ६० मतान्तरले पराजित भएका थिए । यस पटक उनी नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् ।
यस वडामा ११ जनाले राजनीतिक दलदेखि स्वतन्त्ररुपमा पनि उम्मेदवारी दिएका छन् ।
सुशीललाई लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दिएका अमर साहले पछ्याइरहेका छन् । जनकपुरधाम–१० मा अमरको उम्मेदवारीले पनि चर्चा पाएको छ । उनी वडा सदस्यको रुपमा समेत कार्य गरिसकेका छन् ।
अमरले वडावासीको अपेक्षा अनुसार काम गर्न नसक्दा उनीप्रति स्थानीयवासी रुष्ट बनेका छन् । अमर वडा सदस्य रहँदा वडाअध्यक्ष मिथिलेश कर्ण थिए । उनको बेलामा जग्गा अतिक्रमण, फोहोर मैला व्यवस्थापन, सफासुग्घर वडा, नाला तथा ढल निकासमा निकै समस्या भएको थियो । स्थानीयले मृत्युदर्ता वा जन्मदर्ता प्रमाणपत्रका लागि समेत चर्को शुल्क तिर्नुपरेको अनुभव सोही वडाका रोशन साहसँग छ ।
त्यस्तै नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका गणेश ठाकुर पनि चुनावी मैदानमा छन् । पुराना काँग्रेसी रहेकै आधारमा उनले टिकट पाएको काँग्रेसीजनको भनाइ छ ।
वडा नम्बर–१० मा काँग्रेसको सगठन बलियो रहेको र जनआधार पनि अन्यको तुलनामा राम्रो रहेकाले उनले जित हासिल गर्नसक्ने केहीको आंकलन छ । तर काँग्रेसबाट अरु काँग्रेसीहरुले टिकट नपाएपछि तीन जनाले बागी उम्मेदवारी दिएका छन् । जसले ठाकुरलाई कमजोर बनाउन सक्ने डर यथावत छ ।
यता, वडाध्यक्ष पदका उम्मेदवार सुशील कर्णले २३ बुँदे संकल्प पत्र जारी गर्दै वडाका सम्पूर्ण समस्या तथा व्यक्तिगत, पारिवारिक र सामुहिक समस्याको समाधान गर्न आफू सदैव अग्रसर रहने र वडालाई नमूना वडाको रुपमा विकास गर्न तथा आफ्नो वडामा नयाँ परिवर्तनका लागि सदैव अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
सुशीलले आफू निर्वाचित हुँदा प्रादेशिक अस्पताल गेट खोलाएर मेडिकल करिडोर निर्माण गर्ने, वडामा खाली रहेको जग्गाबाट फोहोर सफा गराइ जग्गाधनीलाई पत्राचार गरेर बाउण्ड्री गर्न आग्रह गर्ने, वडामा सफाइका लागि ट्रेक्टर र स्वास्थ्यका लागि एम्बुलेन्सको व्यवस्था गर्ने, मात्र उपमहानगरपालिकाको बजेटका लागि मुखदर्शक नबनि विभिन्न नियोग कार्यालय, एन.जि.ओ., आई.एन.जि.ओ., प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी निकायबाट बजेट ल्याएर वडाको विकास गर्ने, जिर्ण अवस्थामा रहेको अरगजा स्कूलमा अंग्रेजी माध्यमको पठनपाठन सुचारु गरि जिर्णोद्धार गर्नेलगायतका प्रतिवद्धताहरु जनाएका छन् ।
उनले वडाभित्र विभिन्न सिपमूलक महिला तथा युवा तालिम सञ्चालन गर्ने, ऐतिहासिक बाह«बिघाको बन्द रहेको गेट सर्वसाधारणका लागि पुनः खोलाउने, पर्यटक तथा सर्वसाधारणका लागि ४० रुपैयाँमा पेटभर खाना खुवाउनका लागि जानकी भोजनालयं सञ्चालनमा ल्याउने, बजार व्यवस्थापन तथा पार्किंगको व्यवस्था गर्ने, वडाभित्र बन्द रहेका सरकारी कार्यालय पुनः संचालनका लागि पहल गर्ने, वडा नम्बर–१० को नक्सा बनाई धार्मिक पर्यटन, सुन्दर एवम् स्वच्छ बातावरण वडा बनाउनका लागि पहल गर्ने, तेलहा मरहा तथा अरगजा पोखरीको सौन्दर्यीकरण गरि पर्यटकीय केन्द्र बनाउनका लागि पहल गर्ने, सडकपेटिमा वृक्षारोपण गरि हरित वडा बनाउने, वडाभित्र फ्रि वाईफाई सेवा उपलब्ध गराउने, वडा कार्यालयबाट प्राथमिक उपचारसहित निःशुल्क औषधीको व्यवस्था गर्ने, ५० वर्ष भन्दा माथिका व्यक्तिको निःशुल्क ल्याब टेस्ट गराउनेलगायतका बुँदाहरु आफ्नो प्रतिवद्धता–पत्रमा समावेश गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


