काठमाडौं, २७ बैशाख । स्थानीय तहको निर्वाचन हुन मात्र ३ बाँकी छ । मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ ।

निर्वाचन आयोगको मौन अवधि मतदान हुने दिनभन्दा ४८ घण्टाअघि सुरु हुन्छ ।

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको समयावधि मौन अवधि भनिन्छ ।निर्वाचनको दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने छ ।

आयोगको निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु भएपछि राजनीतिक दलहरूले प्रचारप्रसार गर्न पाउँदैनन् । मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।

आचारसंहिता उल्लेख भएका नियमहरू मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने हुन्छ ।

यसैगरी मौन अवधिभर कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पनि पाइँदैन । यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा सेयर गर्न वा गराउन पनि नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निगरानीका लागि आयोग आफैँ, सुरक्षा निकाय र मुलुकका विभिन्न मुख्य स्थानमा १८ सहसचिवको नेतृत्वमा टोली खटिएको छ ।यसबाहेक निगरानीका लागि जिल्लामा मुख्य अधिकृतको नेतृत्वमा संयन्त्र र पालिकामा निर्वाचन अधिकृतको नेतृत्वमा संयन्त्र पनि बनेको छ ।

मौन अवधि उल्लंघन गर्नेलाई आयोगले एक लाखसम्म जरिवाना तथा उम्मेदवारी रद्द गर्न सक्नेसम्मको सजायको निर्णय गर्न सक्ने छ ।स्थानीय तहको निर्वाचनका लागि भारत र चीनसित जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ । सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको हो ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।