आज जानकी नवमी मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम, २७ बैशाख । जनकपुरधाम सहित मिथिलाञ्चलमा आज जानकी नवमी मनाइँदै छ । प्रत्येक वर्ष माता सीताको जन्म भएको दिनको स्मरणमा जानकी नवमी मनाइने गरिन्छ ।
प्राचीन मिथिलाका राजा जनककी छोरी सीताको जन्म वैशाखको शुक्ल पक्ष नवमीका दिन भएको धार्मिक मान्यता अनुसार आजका दिन प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ ।
जानकी नवमीको अवसरमा आज बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर लगायतमा पूजापाठ गर्ने श्रद्धालुहरूको भीड लागेको छ ।
केही वर्षअघिसम्म औपचारिकतामा मात्र सीमित हुने जानकी नवमी केही वर्ष यता विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउने गरिएको छ ।
सीताको जन्मोत्सवमा सहभागी हुन एवम् पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा पर्यटक जनकपुरधाम आएका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीले जनकपुरधाम र मधेस प्रदेशको गरिमालाई विश्व स्तरमा स्थापित गर्ने भएको हुँदा यस पर्वको गरिमाको संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारमा प्रदेश सरकार हरसम्भव रहँदै आएको बताएका छन् ।
जानकी नवमीको अवसरमा मधेस प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा समेत दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


