जनकपुरधाम, २६ बैशाख । स्थानीय तहको निर्वाचन हुन् ४ दिन मात्र बाँकी रहेको अवस्थामा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ को वडाध्यक्ष पदकी एकमात्र महिला उम्मेदवार बिन्दु ठाकुरले मतदाताहरुसँगको भेटघाट तिव्र बनाएकी छन् ।

चुनावी प्रचारप्रसारको समय मंगलबार सकिँदै छ । मत हाल्ने दिन नजिकिएसँगै वडाध्यक्ष पदकी उम्मेदवार ठाकुरले मतदाताहरुसँगको भेटघाट तिव्र बनाएकी हुन् ।

मतदातासँगको भेटघाट तिव्र बनाउँदै उनले भनिन्, ‘जनप्रतिनिधि जनताको सेवक हुन्छन्, शासक होइन् । जितेपछि जसलाई जनता, मिडिया, बुद्धिजीवी, व्यापारी, आफ्नो पार्टी अथवा सहयोगीसँग भेटघाट गर्ने समय नै हुँदैन् त्यस्तालाई जिताएर के फाइदा ?’

जनताको दुःख कष्ट नबुझ्ने जनप्रतिनिधिलाई भोट नदिन उनले आग्रहसमेत गरिन् ।

उनले शासक वा मालिक नभई सेवक बनेर पालिका तथा वडाको विकास गर्न, आफ्नो वडाबासीको दैनिक कार्यहरु जस्तै नागरिकताको सिफारिश, बृद्धा पेन्सनका लागि सिफारिश, जन्मदर्ता, बिबाह दर्ता, मृत्युदर्ता, बिजुली मिटर जस्ता सिफारिश र कामहरु निशूल्क रुपमा तुरुन्तै सहज ढंगले हुने व्यवस्थाका लागि आफूले उम्मेदवारी दिएको बताइन् ।

बिन्दुले छाड़ा पशुचौपाया नियन्त्रणको दीर्घकालीन समाधान, किसानी कर्ममा लागेका अन्नदाता किसानका लागि उन्नत बीज, मल खाद, उन्नत कृषि यन्त्रको सहज उपलब्धता, विद्यालय र स्वास्थ्य चौकी प्रमुखसँग सहकार्य गरि शिक्षा र स्वास्थ्य सेवामा आम जनतालाई निशुल्क सहज एवम् गुणस्तरीय सेवा प्रदान गर्ने, ढल, नाल सहितको गुणस्तरीय सड़क, खानेपानी, सड़क पोलमा बिजुली बत्ती, फोहोर फाल्नका लागि डस्टबिनको व्यवस्था, नियमित फोहोर संकलन तथा व्यवस्थापन गरि नमूना वडा निर्माणका लागि वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताइन् ।

उनले आफू निर्वाचित भए वडाभित्रका युवाहरुका लागि खेलकूद सामग्री उपलब्ध गराउने, लोकल खेल मैदानको खोजी एवम् निर्माण, दलित, गरीब, जेहेन्दार तथा अभिभावकबिहीन बालबालिकालाई निशुल्क शिक्षा र स्वास्थ्यका साथै कापी, किताब, पेन र ड्रेसको निशुल्क व्यवस्था गर्ने प्रतिबद्धतासमेत जनाइन् ।

ठाकुरले वडाबासीसँग प्रत्येक महिना सार्वजनिक संवाद, कार्य प्रगती विवरण सार्वजनिक गर्ने, जनताको सुझाव संकलन गर्ने जस्त व्यवस्था मिलाउन र सोही अनुसार विकासका कामहरु अगाडि बढाउनका लागि आफूले उम्मेदवारी दिएको सुनाइन् ।

उनले आफ्ना योजनाहरुको विश्वासको आधार २०६२ सालदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा आफ्नो निस्वार्थ सेवा, मधेश जनविद्रोहदेखि पटक पटकको आन्दोलनमा नेतृत्वदायी भूमिकालगायतका गतिविधिहरु रहेको दाबी गरेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा आफू एकमात्र वडाध्यक्ष पदको महिला उम्मेदवार रहेकोले आफूमाथि विश्वास गरि मतदान गर्न वडाभित्रका सम्पूर्ण मतदाताहरुसँग आग्रह गरेकी छन् ।