जनकपुरधाम, २६ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार शिवशंकर साह हिरा र उपमेयर पदकी उम्मेदवार रुना झाले सोमबार पनि घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

उनीहरु दुबैजनाले सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५, ६ र ८ मा घरदैलो अभियान सम्पन्न गरेका हुन् ।

घरदैलोमा हिराले जनकपुरधामलाई महानगरपालिका बनाउनका लागि आवश्यक पूर्वाधारसहित स्थानीयलाई समृद्ध बनाउन रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकास निर्माणको कार्यलाई अगाडी बढाउने बताए ।

उनले जनकपुरधाम मधेस प्रदेशको राजधानी रहेकाले यसको पूर्वाधार, संरचना निर्माण, विकास र विस्तार समेत त्यतिकै अपरिहार्य रहेको जिकिरसमेत गरे ।

उनले जनकपुरधाम उपमहानगर भइसकेपनि आवश्यक पूर्वाधारको विकास तथा विस्तार हुन नसकेकाले आफुलाई जिताउन अपिल गरे । हिराले जनकपुरधाम उपमहानगरपालिका भित्र व्यापक अनियमितता भएकाले आफू निर्वाचित भए आगामी दिनमा सुन्य सहनशिलता अपनाइ कानूनी प्रक्रिया अघि बढाउने बताए ।

उनले जनकपुरधामलाई भ्रष्टाचारमुक्त कानूनी सुशासन कायम गर्नका लागि समेत आफुले उम्मेदवारी दिएको दावी गरे ।

त्यस्तै उपमेयर पदमा निर्वाचित भएमा उपमहानगरपालिकाको कार्यालयमा भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको सिद्धान्तलाई पालना तथा कार्यान्वय गर्ने नेतृ रुना झाले बताइन् । उनले धार्मिक पर्यटनीय नगरीको रुपमा जनकपुरधामलाई समृद्धसहितको विकास गर्ने बताइन् ।