जनकपुरधाम, २६ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार बिभा ठाकुरले घरदैलो कार्यक्रमलाई तिव्र पारेकी छन् ।

आन्दोलनकारी समेत रहेकी ठाकुरले सोमबार विश्व कानून दिवसको अवसरमा सम्पूर्ण नगरवासी एवम् देशवासीमा शुभकामना दिँदै जनकपुरधामको जनताले आफूलाई मेयरमा विजयी बनाउने विश्वास व्यक्त गरेकी हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर–१९ मा उपप्रमुख पदका उम्मेदवार इश्वर पण्डितसँगै घरदैलोमा पुगेकी ठाकुरले स्थानीय जनतासँग सुखदुःख साटासाटसमेत गरेकी छन् ।

ठाकुरले जनकपुरधाम उपमहानगरपालिकालाई नमूना उपमहानगर बनाउने प्रतिबद्धता समेत जनाएकी छन् । ठाकुरले प्रत्येक स्थानीयबासीको घरघरमा गएर बुढापाकाबाट आर्शिवाद थाप्नुका साथै युवाहरुको सहयोग सद्भावको वचनबद्धता लिदैं नगरपालिकालाई देशमै नमूना नगरपालिकाको रुपमा स्थापित गर्न नितीगत योजनाहरु अघि बढाउने प्रतिबद्धता जनाइन् ।

ठाकुरले आफू जिते जनकपुरधाम उपमहानगरपालिकाको ग्रामिण क्षेत्रमा बाटोघाटो, सिचाई, शिक्षा र स्वास्थ्यमा अपेक्षा अनुसार प्रगति नभएकोले त्यसतर्फ बढि ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।