सिरहा, २६ बैशाख । सिरहामा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ ।

नेकपा एमालेबाट सिरहा नगरपालिका–५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना शेषको मृत्यु भएको हो ।

उनको कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । उनको मृत्युपछि उनका श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छन् ।

शेषको मृत्यु भएको खबर पाएलगतै निर्वाचन आयोगलाई सूचना दिएर आयोगले पठाएको प्रक्रियाअनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गरी आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन चिह्नसमेत प्रदान गरिसकिएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।

निर्वाचन अधिकृत खरेलले भने, ‘हामीलाई जानकारी आउनासाथ निर्वाचन आयोगलाई पत्र लेख्यौँ, आयोगले तत्काल प्रक्रिया पठाईदिएकाले ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी प्रक्रिया पूरा गरेर निर्वाचन चिह्न दियौँ ।’