बैतडी, २६ बैशाख । प्राध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बैतडीका एक उम्मेदवारलाई पक्राउ गरेको छ ।

जिल्लाको डिलासैनी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले रानालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको छ । घटनाको बारेमा जानकारी लिन रानालाई नियन्त्रणमा लिइएको उनले बताए ।

राना र उनका समर्थकले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै प्राध्यापकमाथि कुटपिट गरेको पीडित पक्षले बताएको छ ।

डिलासैनी गाउँपालिका–५ बिनाबस्तीका वासिन्दा जोशीको दुबै खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दीपकराज जोशीले जानकारी दिए ।

डिलासैनीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ ।