जनकपुरधाम, २५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट धनुषाको हंसपुर नगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार रामज्ञान मण्डलले नगरको दिर्घकालिन विकासका लागि आफूले पुनः उम्मेदवारी दिएको बताएका छन् ।

यसअघिको कार्यकालमा बनाइसकेको र केही काम सुरु पनि भईसकेकाले ती कामहरु सम्पन्न गर्नकै लागि आफूले पुनः दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको उनले बताएका हुन् ।

उपप्रमुख पदकी उम्मेदवार दिपिका सदासँगै मत माग्न पुगेका मण्डलले मतदाताहरुको आशिर्वाद थाप्नुका साथै शुभेच्छा ग्रहण गरेका छन् ।

आइतबार वडा नम्बर–५ बेल्ही र वडा नम्बर–६ को सुगा निकास र टिल्हीमा घरदैलोका लागि पुगेका निवर्तमान नगरप्रमुख समेत रहेका मण्डलले यस अघिको कार्यकालमा आफूले तयार पारेको विकासको खाका अनुसार काम सम्पन्न गर्नका लागि मतदाताहरुलाई पुनः मतदान गर्न आग्रह गरे ।

मण्डलले आफूले हंसपुरको समस्या नजिकबाट बुझेकोले त्यसलाई समाधान गर्नसक्ने क्षमता आफूमा रहेको दावीसमेत गरे । मण्डलले बाँकी रहेका योजनाहरुलाई पुरा गर्दै जनताको शिक्षादेखि रोजगारसम्मको नीतिगत विकासका योजना कार्यान्वयनमा ल्याउने प्रतिबद्धतासमेत जनाएका छन् ।