जनकपुरधाम, २५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले आफू नगरवासीको पीडा राम्ररी बुझेकाले राजनीतिज्ञभन्दा राम्रो नेतृत्व उपमहानगरलाई दिन सक्ने उनले दावी गरेका छन् ।

आइतबार ८ वटा वडामा घरदैलो सम्पन्न गरेका महतोले आफू निर्वाचित भए जनकपुरधामले एउटा कुशल नेतृत्व पाउने दावी गरेका हुन् ।

उपमहानगरलाई राजनीतिको अखाडा बनाइएकोले विकास निर्माणका कार्यहरु बाधित हुँदै आईरहेकोसमेत उनले बताए ।

उनले आफू निर्वाचित भए उपमहानगरमा राजनीतिक खिचातानीको हावा लाग्न नदिने प्रतिवद्धता व्यक्त गरे । कुनै राजनीतिज्ञभन्दा राम्ररी विकास निर्माणका कार्यहरु अगाडी बढाउन सक्ने उनको दावी थियो ।

उनले भने, ‘म निर्माण व्यवसायको पृष्ठभूमिबाट आएको व्यक्ति । मसँग कन्स्ट्रक्सनको अनुभव छ, मलाई जनकपुरधाम को विकास गर्ने ठूलो धोको छ । जनकपुरधाममा एडिवी परियोजना अन्तर्गत भएको सडक तथा ढल निर्माण कार्य, नेपाल रेल्वेको लिक निर्माण मैले नै गरेको छु ।’

उनले उपमहानगरको व्यवस्थाकीय कमजोरीका कारण सडक तथा ढलको दुरावस्था रहेको जिकिर गरे ।

चुनावी प्रचार अभियानको अब केही दिन मात्रै बाँकी रहेको समयमा महतोले आइतबार जनकपुरधामको वडा नम्बर–८ को बजरंग चोक, वडा नम्बर–२४ बसहिया तथा सोनापाड़ा, वडा नम्बर–१८ भोइल, वडा नम्बर–३, वडा नम्बर–११, वडा नम्बर–१, वडा नम्बर–१६ र वडा नम्बर–१५ स्थित रामपुरमा बलरामले घरदैलो गरेका हुन् ।