सुकुम्वासीलाई आवास योजनासहित लालपुर्जा दिलाउने चौधरीको प्रतिवद्धता

जनकपुरधाम, २५ बैशाख । ‘नो लालपुर्जा नो भोट’ अभियान चलाउँदै आएका जनकपुरधामका सुकुम्वासीहरुले लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार मनोज चौधरीलाई समर्थन जनाएका छन् ।
दुई दिन पहिले मनोज चौधरीले जारी गरेको संकल्प–पत्रमा भूमिहीन सुकुम्वासीलाई आवास योजनासहित लालपुर्जा दिलाउनका लागि पहल गर्ने बुँदा समावेश गरेपछि सुकुम्वासीहरुले चौधरीलाई समर्थन गरेका हुन् ।
आइतवार जनकपुरधामस्थित क्याम्पस चोकमा आयोजना गरिएको कार्यक्रममा बोल्दै चौधरीले आफू जितेपछि सुकुम्वासीहरुको अधिकारलाई सुनिश्चित गर्न संघ र प्रदेशलाई गुहार्ने र त्यसपछि पनि सुनवाई नगरिए स्थानिय ऐनलाई टेकेर सुकुम्वासीहरुलाई लालपुर्जा दिलाएर आवाससहितको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् ।
सुकुम्वासीहरुको घर वर्षाको समयमा डोजर लगाएर तोडने गरेको अवस्था अब सहय नहुने बताउँदै उनले यस्तो गरिए अब मनोज चौधरीसँग सामना गर्नुपर्ने बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जनकपुरधामका अध्यक्ष समेत रहेका चौधरीले घोषणापत्रमा लेखिएको सबै घोषणा अक्षरशः पालना गर्ने बताएका थिए ।
कार्यक्रममा लोसपा नेपालका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले गुठी ऐन बनाउनकालािग आफूले पहल गर्ने र सोहि ऐनलाई टेकेर सुकुम्वासीको समस्या समाधान गर्ने बताए ।
उनले पहाडमा लालपुर्जा वितरण भइरहँदा मधेशमा नभएकोले निर्वाचन पछि प्रदेशसभामा दरो आवाज उठाएर ऐनलाई छिटो भन्दा छिटो पास गराउन पहल गर्ने आश्वासन दिए ।
चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाईमा आयोजना गरिएको सो कार्यक्रममा अभियानका अध्यक्ष सुनिल कुमार यादवले विभिन्न उम्मेदवारहरुले जारी गरेको घोषणा–पत्रमा दलित तथा सुकुम्वासीहरुको पिडा कसैले नबुझेको आरोप लगाए ।
उनले मनोज चौधरीले आफ्नो घोषणापत्रमा आफूहरुको मुद्दा समेटेकाले अभियानको समर्थन रहेको बताउँदै वैशाख ३० गते हुने निर्वाचनमा जनकपुरधामका सम्पुर्ण सुकुम्वासीहरुले चौधरीलाई समर्थन जनाउँदै मतदान गर्ने बताए ।
कार्यक्रममा उपमेयर पदकी उम्मेदवार रिता कुमारी मिश्र, अभियानका मधेश प्रदेश संयोजक अमन यादव लगायत दर्जनौं अभियानीहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


