जनकपुरधाम, २५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार शिवशंकर साह हिराले आफू निर्वाचित भए जनकपुरधाम उपमहानगरपालिकाभित्र भ्रष्टाचारबिरुद्ध शुन्य सहनशिलता अपनाइने बताएका छन् ।

जनकपुरधाम उपमहानगरलाई भ्रष्टाचारमुक्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका हुन् ।

विगतमा जनकपुरधामले पाएको जनप्रतिनिधिहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको तीतो अनुभव जनकपुरवासीको रहेकाले भ्रष्टाचारमुक्त जनकपुरधाम बनाउन आफू अग्रसर भएको हिराले दावी गरे ।

उनले आफू नगरप्रमुखमा निर्वाचित भए उपमहानगरपालिकाको कार्यालयमा भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको सिद्धान्तलाई पालन गर्ने वचनवद्धता व्यक्त गरे ।

उनले भने, ‘म नगरप्रमुखमा निर्वाचित भएपछि उपमहानगरको कार्यालयका साथै अन्य कार्यालयहरुमा हुने भ्रष्टाचारमाथी समेत रोक लगाउन पहल गर्नेछु ।’

जनकपुरधाम धार्मिक नगर रहेकाले यहाँका मठ मन्दिरहरुलाई व्यवस्थित गरेर पर्यटकीय नगरीको रुपमा विकास गर्ने उनले अठोट व्यक्त गरेका छन् ।

आफ्ना यीनै एजेण्डाहरुका साथ नगरप्रमुखका उम्मेदवार हिरा वडा नम्बर–२५ लोहना र वडा नम्बर–१६ कपिलेश्वरका मतदाताहरु समक्ष पुगेका थिए ।

घरदैलोमा उनीसँगै एमालेको उपप्रमुखका उम्मेदवार रुना झाको समेत सहभागिता रहेको थियो ।