पोखरा, २५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् ।

सत्तारुढ गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको जिकिरसमेत गरे ।

उनले चुनावी अभियानका क्रममा चितवनमा दिएको सोही अभिव्यक्तिको कारण विवादित भएको कुरा स्मरण गर्दै गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की नभएर सत्य भएको बताए ।

देशको संविधान जोगाउन बनेको गठबन्धनबाट स्थानीय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने बरु सबै दललाई र देशलाई पनि फाइदा हुने बताए । आफ्नो मन्तव्यलाई छोट्ट्याउँदै दाहालले अझै तीनवटा कार्यक्रममा पुग्नुपर्ने बाध्यता रहेको बताए ।