काठमाडौं, २५ बैशाख । निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारबाही गरेको छ ।

आचारसंहिताको गम्भीर उल्लंघन गरेकोले २३ वटा वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारबाही गरिएको आयोगले जनाएको हो ।

आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारबाही गरेको छ । दर्ता नभई सञ्चालन भएका वेब पोर्टलले आचारसंहिता उल्लंघन गरेकोले नेपालबाट सञ्चालन हुन नसक्ने गरी कारबाही गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३७ सञ्चारमाध्यमलाई सचेत तथा सजग गराइएको छ ।

यस्तै, चैत २५ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।सोही अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई गम्भीर बन्न निर्देशन दिइएको छ ।

आठ वटा मिडियालाई लिखितरुरूपमा सचेत गराइएको छ । त्यस्तै, २१ वटा सञ्चारमाध्यमलाई लिखितरूपमा आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ ।