यो निर्वाचन एमालेका लागि प्रतिष्ठाको निर्वाचन रहेको महासेठको भनाइ

जनकपुरधाम, २४ बैशाख । नेकपा एमालेका सचिव रघुवीर महासेठले यस पटकको स्थानीय तहको निर्वाचन नेकपा एमालेका लागि प्रतिष्ठाको विषय बनेको बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा एमालेको तर्फबाट नगरप्रमुखका उम्मेदवार शिवशंकर साह हिरा र उपप्रमुखकी उम्मेदवार रुना झाका लागि मतदातासँग मत माग्न पुगेका महासेठले यो निर्वाचन एमालेका लागि प्रतिष्ठाको विषय रहेको बताएका हुन् ।
एमालेले पछिल्ला केही वर्षमा गरेको विकास निर्माणका कार्यहरुबाट त्रसित भएर यस पार्टीलाई पराजित गर्न पाँच दलीय गठबन्धन निर्माण भएको महासेठले आरोप लगाए ।
उनले भने, ‘कांग्रेसले बर्षौंसम्म देशमा सरकार चलायो तर विकास गर्न सकेन । केपी ओली नेतृत्वको सरकारका कारण देशको मुहार नै परिवर्तन भएको छ । यही परिवर्तनलाई देखेर बाँकी दल त्रसित भएका छन्, गठबन्धन गरेर एमालेलाई पराजित गर्ने दिवास्वप्न देखिरहेका छन् ।’
महासेठले गठबन्धन गरेर अन्य दलहरु चुनाव लडेपनि एमाले एक्लै अधिकांश पालिकामा जीत्ने दावी गरे । देशमा आर्थिक उन्नति तथा सामाजिक विकासका लागि एमालेका उम्मेदवारलाई मत दिन उनले आग्रहसमेत गरे ।
नगरप्रमुख पदका उम्मेदवार शिवशंकर साह हिराले युवाहरुको भविष्य उज्जवल बनाउनका लागि आफूलाई मतदान गर्न आग्रह गरे ।
क्षणिक प्रलोभनमा लागे युवाहरुको भविष्य नै अन्धकारमय हुने हिराको भनाइ छ । उनले आफ्नो छोरा छोरीको भविष्य उज्जवल बनाउने कुरा तपाईहरुको हातमा रहेकाले मतदान गर्दा विचार पुर्याउन आग्रह गरे ।
कार्यक्रममा पूर्वमन्त्री एवं एमाले नेतृ जुली महतोको समेत उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


