मधेस प्रदेशमा सबैभन्दा बढी संख्यामा उम्मेदवारी

जनकपुरधाम, २४ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा सबैभन्दा बढी संख्यामा उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार मधेस प्रदेशमा ४० हजार ९२४ जनाको उम्मेदवारी परेको हो ।
अन्य प्रदेशमा भन्दा मधेस प्रदेशमा झण्डै दोब्बर उम्मेदवारी परेको छ । मधेस प्रदेशमा नगरपालिकाको प्रमुखमा १ हजार ४२०, उपप्रमुख ६३८, गाउँपालिकाका अध्यक्षमा ८९३ र उपाध्यक्षमा ४७९ जनाको उम्मेदवारी परेको छ ।
मधेसमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कूल १३६ स्थानीय तह छन् ।
मधेस प्रदेशपछि बागमती प्रदेशमा २२ हजार ६६५ जनाको उम्मेदवारी परेको छ ।
बागमती प्रदेशमा प्रमुखमा ५१८, उपप्रमुख २९९, गाउँपालिकाका अध्यक्ष ५१९, उपाध्यक्ष ३२३ को उम्मेदवारी परेको हो । लुम्बिनी प्रदेशमा २२ हजार ४२६, प्रदेश नं. १ मा २१ हजार ५२२, सुदूरपश्चिम प्रदेशमा १२ हजार ८६८, कर्णाली १२ हजार ५९६ जनाको उम्मेदवारी परेको छ ।
नगरप्रमुखमा पुरुष ३ हजार ९ जना र महिला २२९, गाउँपालिका अध्यक्षमा पुरुष २ हजार ९३७ र महिला ११५, नगरको उपप्रमुखमा पुरुष ५३० र महिला १ हजार ४३४ तथा गाउँपालिका उपाध्यक्षमा पुुरुष ५२० र महिला १ हजार ६४३ को उम्मेदवारी परेको आयोगले जनाएको छ ।
सबैभन्दा कम गण्डकी प्रदेशमा उम्मेदवारी परेको छ । गण्डकी प्रदेशमा १२ हजार ९ जनाको उम्मेदवार परेको हो । गण्डकी प्रदेशमा एक महानगर, २६ नगरपालिका र ५८ गाउँपालिका गरी कूल ८५ स्थानीय तह छन् ।
कूल ३५ हजार २२१ हजार पदमा १ लाख ४५ हजार १ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् । निर्वाचनका लागि आयोगले मतपत्र सबै मतदान केन्द्रमा पठाइसकेको जनाएको छ ।
आगामी शुक्रबार देशभर ७५३ स्थानीय तहमा एकैपटक निर्वाचन हुँदैछ । १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता सहभागी हुनेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


