गठबन्धनकै कारण लोकतन्त्रको रक्षा भयो : उपेन्द्र यादव

जनकपुरधाम, २४ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघिय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि गठबन्धनको निर्माण भएको बताएका छन् ।
शनिबार पाँच दलीय गठबन्धनले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नै अध्यक्ष यादवले लोकतन्त्र खतरामा परेपछि गठबन्धनको आवश्यकता महशुस भएको बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा एउटै संसदलाई दुई दुई पटक भंग गरेर देशलाई निरंकुश र स्वेच्छाचारी शासनतर्फ लग्ने प्रयास गरिएपछि पाँच दलीय गठबन्धनको निर्माण भएको बताउँदै अध्यक्ष यादवले गठबन्धनकै कारण आज लोकतन्त्रको रक्षा भएको दाबीसमेत गरे ।
उनले भने, ‘लोकतन्त्रको रक्षा, विगतको जनआन्दोलन, सशस्त्र विद्रोह, ऐतिहासिक मधेस जनविद्रोहको उपलब्धि, संघिय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि नै गठबन्धनको निर्माण भएको हो ।’
गठबन्धन स्थापनाको सँगसँगै लोकतन्त्रको रक्षा, परिवर्तनलाई संस्थागत गर्न सडकदेखि सदन र सर्वोच्चसम्म आफूहरुले कानूनी लडाईं लडेको उनले बताए ।
उनले लोकतन्त्रका सार्थ सम्पूर्ण प्राप्त उपलब्धिलाई संस्थागत गर्ने अवसर प्राप्त भएकोले गठबन्धनका उम्मेदवारहरु जिते मात्र राजनीतिक रुपले लोकतन्त्रको रक्षा हुनुका साथै स्थानीय तहको विकास हुने दाबीसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


