जनकपुरधाम, २४ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहेका पाँच दलीय गठबन्धका संयोजक रामचन्द्र पौडेलले देउवा नेतृत्वको सरकारले एमसीसी पास गरेर देशलाई आर्थिक संकटबाट मुक्त गरेको बताएका छन् ।

शनिबार पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै वरिष्ठ नेता पौडेलले एमसीसी पास नभएको भए देशको अवस्था श्रीलंकाको जस्तो हुनबाट कसैले रोक्न नसक्ने बताएका हुन् ।

‘एमसीसी पास नभएको भए नेपालको स्थिती पनि श्रीलंकाको जस्तो हुने थियो’ उनले भने,‘ देशलाई आर्थिक संकटबाट मुक्त गराउनका लागि एमसीसी पास गरिएको हो ।’

उनले आगामी दिनमा नेपालीलाई कसैको अगाडि शीर निहुराउन अथवा हात थाप्न नपर्ने अवस्थाको अन्त्यका लागि एमसीसी पास गरिएको जिकिरसमेत गरे ।

वरिष्ठ नेता पौडेलले जनकपुरधाममा बागीले जित्दै आएको इतिहास रहेकोले गठबन्ध आबद्ध दलहरुलाई अन्तरघात नगर्न आह्वानसमेत गरेका छन् ।

उनले भने,‘जनकपुरधाममा बागी उम्मेदवारले जित्दै आएको इतिहास छ । त्यसैले यसपाली गठबन्धन भित्र अन्तरघात नगरी गठबन्धन दलभित्रका साझा उम्मेदवारलाई जिताउनुपर्छ ।’

उनले जनकपुरधाममा छाता र रुखका प्रमुख उम्मेदवारहरु गठबन्धनको साझा उम्मेदवार रहेकोले छातामा मेयरलाई र रुखमा उपमेयरलाई मतदान गर्न मतदातासँग आग्रह गरे ।

नेपालमा भ्रष्टाचार र राजनीतिक अस्थिरता विकासको बाधक रहेको बताउँदै वरिष्ठ नेता पौडेलले अस्थिरताको प्रतिक केपी ओली बनेको आरोपसमेत लगाए ।

उनले भने, ‘केपी ओलीकै नेतृत्वमा यो मुलुकलाई अस्थिर बनाएर संविधानलाई लथालिङ पार्दिने, संसदलाई भताभुंग पार्दिने, अदालतलाई दुरावस्थामा पुर्याउने, देशका संवैधानिक निकायहरुलाई बर्बाद गर्ने प्रक्रिया सुरु भयो । उनकै बदमासीलाई तह लगाउनका लागि यो गठबन्धनको जन्म भएको हो ।’

वरिष्ठ नेता पौडेलले कांग्रेसभित्रको अन्तरघातले पार्टीलाई बर्बाद बनाउँदै आएकोले पार्टीभित्र अब लप्पनछप्पन र अन्तरघातका कुराहरु कुनैपनि हालतमा स्विकार्य नहुने समेत बताएका छन् ।

पौडेलले जनकपुरधामको अस्तव्यस्ततालाई चिर्दै व्यवस्थित र सुन्दर शहर निर्माणका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन् ।