एमालेले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको प्रचण्डको टिप्पणी

जनकपुरधाम, २४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् ।
शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ मा आयोजित चुनावी सभामा उनले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको बताए ।
‘अहिले त्यही पार्टी जनतामा भ्रम दिने षड्यन्त्र गरिरहेको छ’ उनले भने ।
अहिले एमालेले सामन्ती र राजावादी तत्वसँग गठबन्धन गरेको भन्दै प्रचण्डले एमालेले समानुपातिक, समावेशी सिद्धान्त र संघीयता विरोधीसँग गठबन्धन बनाएको टिप्पणी गरे । ‘आउने निर्वाचन खाली एउटा सामान्य निर्वाचन होइन, जनताले जित्ने कि जनताको बैरीले जित्ने भन्ने लडाईं हो’ उनले भने ।
धनुषामा एमालेले आफू पराजित हुने डरले हिन्दू मुस्लिमबीचको सामाजिक सद्भाव खल्बल्याउन लागेको पनि उनले आरोप लगाए ।
‘यो निर्वाचन अगाडि बढ्ने, शान्ति, प्रगति विकासको पक्षधरले जित्ने कि पछि हटाउन र देशलाई सामन्तीतन्त्र, निरकुंशतन्त्रतिर लैजाने भन्ने हो’, प्रचण्डले भने, ‘यो खालि भोट हाल्ने मात्र होइन ।’
जनताले जित्ने कि जनताका वैरी जनताका दुस्मनले जित्ने भन्ने लडाइँ हो । यो ३ वटै निर्वाचनबाट परिवर्तनविरोधी तत्वहरुलाई बढार्दिनुपर्छ र माओवादी केन्द्रलाई विजयी गराउनुपर्छ ।’
प्रचण्डले अहिलेको सत्ता गठबन्धनले संविधान र गणतन्त्रको रक्षा गर्ने दाबी गर्दै विपक्षमा रहेको एमालेको गठबन्धनलाई प्रतिगामी र सामन्ती तत्वको संज्ञा दिए ।
‘अहिले जुन गठबन्धन बनेको छ, त्यही प्रतिगमनका विरुद्ध संविधानलाई अझै राम्रो गर्ने, रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने उद्देश्यले नै गठबन्धन बनेको हो’, प्रचण्डले भने, ‘हामी यो गठबन्धन एउटा अग्रगामी र वाम लोकतान्त्रिक गठबन्धन बनेको छ। अर्को एउटा गठबन्धन पनि बनेको छ, त्यो प्रतिगामी गठबन्धन, सामन्ती तत्वहरुसँग मिलेर राजावादी समेत मिलेर एमाले गुटले गठबन्धन बनाएको छ ।’
देशमा भएको परिवर्तन माओवादीले ल्याएको भए पनि जस अरुले लिएको टिप्पणी पनि गरे ।
‘काम गर्ने कालु, मकै खाने भालु भनेको जस्तो भएको छ’, प्रचण्डले भने, ‘यो परिवर्तन ल्याउने माओवादी, माओवादीले लडेर ल्याउने अहिले बिडम्बना जो यो परिवर्तन विरोधी थिए, तिनीहरु बलियो हुने जो परिस्थिति बनेको छ, यो पटकको निर्वाचनबाट परिवर्तनविरोधी, अधिकारविरोधी तत्वलाई बढार्नुपर्छ र माओवादी केन्द्रलाई विजयी गराउन पर्नेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


