जनकपुरधाम, २४ बैशाख । सत्तारुढ गठबन्धनले जनकपुरधाममा आज आयोजना गर्न लागेको चुनावी सभामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नआउने भएका छन् ।

कार्यव्यस्तताका कारण चुनावी सभामा अध्यक्ष नेपाल सहभागी नहुने एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यसमेत रहेका मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुध्न महतोले जानकारी दिएका हुन् ।

‘यसअघि तय भएको मितिमा अध्यक्षजी आउने कुरा थियो, आज अर्कै ठाउँमा कार्यक्रम भएकोले आउन सम्भव भएन,’ महतोले भने ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारहरूलाई आफूहरूको समर्थन रहेको बताउँदै उनले चुनावी सभामा पार्टीका अरू नेताहरू भने सहभागी हुने बताए ।

सत्तारुढ गठबन्धनबिच भएको भागबन्डामा जनकपुरधाम उपमहानगरपालिकामा एकीकृत समाजवादीले मेयर, उपमेयरका साथै वडाध्यक्ष पनि नपाउँदा रूष्ट बनेको बताइएको छ ।

उपमहानगरमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवार नै नभएकाले चुनावी सभामा अध्यक्ष नेपाल नआउने स्रोतले जनाएको छ ।