युवाहरुलाई खेलकुदप्रति अभिप्रेरित गर्ने योजनामा काम गर्ने महतोको प्रतिवद्धता

जनकपुरधाम, २३ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले शुक्रबार एकै दिन नगरभित्रका ७ वटा वडामा घरदैलो सम्पन्न गरेका छन् ।
चुनावी प्रचार अभियानको अब केही दिन मात्रै बाँकी रहेको समयमा महतोले शुक्रबार जनकपुरधामको वडा नम्बर–३ देवान पोखरी, वडा नम्बर–५ जानकी मन्दिर पछाडी, वडा नम्बर–७ भ्रमरपुरा चोक, वडा नम्बर–१० देवी चोक, वडा नम्बर–१३ रतन चोक, वडा नम्बर–२१ कुर्था र वडा नम्बर–२२ बसविट्टीमा घरदैलो गरेका हुन् ।
घरदैलोको क्रममा महतोले आफ्नो उम्मेदवारीको उद्देश्य र एजेण्डाहरु मतदातालाई सुनाउनुका साथै मतदाताको समस्या समेत सुनेका थिए । मतदाताहरु समक्ष उनले विभिन्न प्रतिवद्धताहरु पनि व्यक्त गरेका थिए ।
महतोले युवाहरुलाई खेलकुदप्रति अभिप्रेरित गर्ने योजनामा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । युवाहरु कुलतमा फँसिरहेको समयमा खेलकुदप्रतिको वातावरण राम्रो बनाउन र खेलकुद क्षेत्रको विकासका लागि आफूले काम गर्ने बताए ।
यसका साथै जनकपुरधाममै रहेको रामजानकी रंगशाला लथालिङ अवस्थामा रहेको समयमा सो रंगशाला निर्माणका लागि समेत पहल गर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


