नगरको दिर्घकालिन विकासका लागि आफूलाई जिताउन बिभाको आग्रह

जनकपुरधाम, २३ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि तराई मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदकी उम्मेदवार बिभा ठाकुरले नगरलाई दिर्घकालिन रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
शुक्रबार घरदैलोको क्रममा ठाकुरले मतदाताहरुसँग नगरको दिर्घकालिन विकासका लागि आफूलाई जिताउन आग्रह गरेकी हुन् ।
नगर प्रमुख पदकी उम्मेदवार ठाकुर र उपप्रमुख पदका उम्मेदवार इश्वर पण्डित, वडा नम्बर–४ को वडाध्यक्ष पदकी उम्मेदवार बिन्दु ठाकुरसँगै घरदैलोमा पुगेर मतदाताहरु समक्ष आग्रह गर्दै ठाकुरले आफू अब उपमहानगरपालिका तथा स्थानीयको विकासका लागि दिर्घकालिन योजनाहरु लिएर नयाँ भिजनका साथ जनता सामु आएको बताइन् ।
ठाकुरले समृद्ध र सुन्दर नगर सांस्कृतिक तथा कृषि पर्यटन, प्रकृतिमैत्री उद्योग, फोहोरको दीगो व्यवस्थापन, सरसफाइलाई प्राथमिकता, वृक्षारोपण तथा हरियाली पार्कहरु निर्माण गर्ने, शान्ति र सुरक्षा नगरको आकांक्षा, सुरक्षा निकायहरुलाई सशक्त बनाउँदै टोल सुधार समितिहरु गठन गरी स्थानिय तहबाट नै सुधारका कार्यक्रमहरु बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले आफू निर्वाचित भए नगरभित्र सामुदायिक हितका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्दै राष्ट्रिय गौरवका कार्यक्रमहरु निर्माण गरी लागु गर्ने, सांस्कृतिक, कृषि तथा औद्योगिक शहरको रुपमा जनकपुरधामलाई विकास गर्ने, सांस्कृतिक खोज तथा अनुसन्धान गरी विभिन्न माध्यमबाट यसको प्रचार प्रसार गर्नेसमेत प्रतिवद्धता जनाएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


