साना तथा मझौला उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने मण्डलको प्रतिवद्धता

जनकपुरधाम, २३ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा धनुषाको हंसपुर नगरपालिकाको लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट नगरप्रमुखका उम्मेदवार रामज्ञान मण्डलले नगरभित्रै रोजगारी सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले आफू दास्रो कार्यकालका लागि निर्वाचित भए साना तथा मझौला उद्योग नगरभित्रै स्थापना गरेर रोजगारी सिर्जना गर्ने बताएका हुन् ।
मण्डलले बेरोजगारी समस्या समाधानका लागि सीपमूलक तालिमका साथै सहुलियत ऋणको व्यवस्था गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनले टुक्रे योजनाहरुको काम पहिलो कार्यकालमा सम्पन्न गरिसकेको भन्दै अब नीतिगत योजना बनाएर दिर्घकालिन विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
शुक्रबार वडा नम्बर–८ स्थित रमनगरा, झटियाहीमा उपप्रमुख पदकी उम्मेदवार दिपिका सदा, वडा नम्बर–३ को वडाध्यक्ष पदका उम्मेदवार उदय सिंह र वडा नम्बर–८ का वडाध्यक्ष पदका उम्मेदवार जिवछ मण्डलसँगै घरदैलोमा पुगेका मण्डलले मतदाताहरुलाई पुनः आफूलाई अवसर दिन आग्रह गरे ।
उनले भने, ‘शिक्षित युवाहरुका लागि नगरभित्रै विभिन्न निकाय स्थापना गरी रोजगारमा लगाउने, प्राविधिक शिक्षा हासिल गरेकाहरुलाई इन्जिनीयरिङ्ग वर्कसप, एप्लीकेशन निर्माण, हार्डवेयर सम्बन्धी कार्यमा लगाउने, वैदेशिक रोजगारमा जानेलाई स्थानीयस्तरमा सीपको व्यवस्था र सीप हासिल गरेकाहरुलाई सहुलियत दरमा ऋणको व्यवस्था लगायतका काम अगाडि बढाइनेछ ।’
मण्डलले बेरोजगारी समस्या समाधानका लागि युवा स्वरोजगार, सीपमूलक तालिम, नगरपालिकाबाट विभिन्न स–साना उद्योग स्थापना र सहुलियत दरमा ऋण उपलब्ध गराउने लगायतका व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


