काठमाडौं, २३ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

शुक्रबार शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाएर ढुक्कले बस्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता रहेको बताएकी हुन् ।

काठमाडौं महानगरमा फोहोरको समस्या, सडकको समस्या, बेरोजगारीको समस्या रहेको भन्दै त्यसको समाधान आफूले गर्ने उनले बताइन् । युवाहरूको लागि विशेष योजना अघि सार्ने उनको प्रतिबद्धता छ ।

शिक्षाको गुणस्तर बढाउनेतिर आफ्नो प्राथमिकता हुने बताइन् । ‘सरकारी विद्यालयमा पढ्दा शिक्षाको गुणस्तर एकदमै कमजोर देखिएको छ । यसलाई गुणस्तरीय बनाउन मेरो ध्यान हुनेछ,’ उनले भनिन् ।

गृहणी महिलालाई विशेष भत्ताको व्यवस्था मात्र नभएर विदुर पुरुषहरूको लागि समेत भत्ताको व्यवस्था गर्ने उनको भनाइ छ । २४ सैं घण्टा काठमाडौंका बजार खुल्ला गर्ने गरी पहल गर्ने बताइन् ।