आफूले जनकपुरधामको विकासका लागि उठाएको एजेण्डाबाट विपक्षीहरु त्रसित भए : शिवशंकर साह

जनकपुरधाम, २३ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपलिकाको मेयर पदका उम्मेदवार शिवशंकर साह हिराले आफूले जनकपुरधामको विकासका लागि उठाएको एजेण्डाबाट विपक्षीहरु त्रसित भएको बताएका छन् ।
उनले आफ्नो प्रतिद्वन्दीसँग कुनै प्रकारको एजेण्डा नरहेको अवस्थामा आफ्नो स्वास्थ्यप्रति प्रश्न उठाउन थालेको आरोप लगाएका हुन् ।
हिराले आफूलाई केही महिनाअघि खुट्टा फ्याक्चर भएर स्टील लागेकोले अहिले हिंडडुल गर्न समस्या भइरहेकोले आफूले चुनावी अभियानमा गाडिको बढि प्रयोग गरिरहेको बताए ।
उनले भने, ‘मेरो स्वास्थ्यलाई लिएर चुनावी एजेण्डा बनाउनु विपक्षीहरुको हारको परिचायक हो । जनकपुरधामको विकासको विषयमा जहिलेपनि बहस गर्न तयार छु ।’
साहले स्थानिय तह सबै भन्दा नजिकको सरकार भएकोले यसले जनतालाई विकास र सुशासन दिनुपर्ने आवश्यकता रहेको औंल्याए । उनले आफू विभिन्न सामाजिक संस्थामा हँुदा समेत जनकपुरधामको विकासका लागि सदैव तत्पर रहेको बताए ।
उनले भने, ‘जनताको अधिकारको आन्दोलनदेखि विकासको आन्दोलनमासमेत म क्रियाशिल थिएँ । जनकपुरधामको विकासका लागि मैले देखाएको अग्रसरता कसैबाट लुकेको छैन् ।’

जनकपुरधाम उपमहानगरपालिका–२३ मा घरदैलो अभियानमा सहभागी साहले सञ्चारकर्मीसँग कुराकानी गर्दै जनकपुरधामको विकासको आधार आफूसँग रहेको दाबी गरे । उनले विकास विना समृद्धि आउन नसक्ने बताउँदै समृद्ध नेपाल र सुखि नेपाली आफ्नो पार्टीको मुख्य लक्ष्य रहेको जिकिरसमेत गरे ।
घरदैलोमा नेकपा एमालेबाट उपमेयर पदकी उम्मेदवार रुना झा, सो वडाका वडाध्यक्षका उम्मेदवार सहित उल्लेख्य संख्यामा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


