१२ बोरको १ नाले बन्दुकसहित एक युवक पक्राउ

पर्सा, २३ बैशाख । पर्साबाट प्रहरीले १२ बोरको १ नाले बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
महतोलाई शुक्रवार विहान पक्राउ गरिएको छ ।
बिहिवार राति सखुवाप्रसौनी–१ स्थित औराहा गाउँ बस्ने मंगलबहादुर भ्लोनको घरबाहिर गोली पड्किँदा उनको बाँसको टाटीमा माटोले लिपेको बेरा भएको घरको पश्चिमपट्टिको बेराबाट गोली प्रवेश गरी घरभित्र रहेको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको घटनामा अनुसन्धानको क्रममा महतोलाई पक्राउ गरिएको हो ।
प्रहरीले उक्त घटनामा अनुसन्धान गर्दा महतोको संलग्नता रहेको खुलेपछि घरठेगानाबाट भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका छन् ।
महतोको घरमा खानतलासी गर्दा घरनजिकै खाली जमिनमा रहेको नालीमा लुकाइछिपाई राखेको १२ बोरको १ नाले घरेलु बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


