जनकपुरधाम, २२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई व्यवस्थित, भयरहित र सुरक्षित बनाउन सोही अनुसारको तयारी भइरहेको छ ।

बिहीबार संवाद समूहको आयोजनामा गरिएको ‘निर्वाचन आचारसंहिता र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुलाई निर्वाचन आचारसंहिता २०७८ को मर्मअनुसार नै मिडियामा समाचार सम्प्रेषण गर्न आग्रह गरिएको हो ।

१८ वर्षमुनिका बालबालिकालाई चुनाव प्रचारप्रसारका लागि प्रयोग गर्न र सञ्चारमाध्यमलाई समेत आचारसंहितामा तोकिएअनुसारकै सामग्री मात्र प्रकाशन र प्रसारण गर्न वक्ताहरुले अनुरोध गरेका थिए ।

कार्यक्रममा मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले निर्वाचन आचारसंहिताको पालना गर्नु पत्रकारलगायत सबैका लागि आवश्यक रहेको बताए । आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले सप्तरीदेखि पर्सासम्म आचारसंहितको उल्लंघनका घटना अत्यधिक मात्रामा भइरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले निर्वाचन आचारसहितको उल्लंघन पत्रकारहरूबाट पनि भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता पत्रकारमाथि कारबाही गर्न आवश्यक भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले धनुषाबाट ६ जना पत्रकारले महासंघको सदस्यता नत्यागेर उम्मेदवार बनेकाले उनीहरूको सदस्यता चाडै खारेज गर्न जिल्लाले निर्णय गरेर केन्द्रमा पठाउने बताइन् ।

कार्यक्रममा फरक मत राख्दै पत्रकार सुभाष कर्णले निर्वाचन आचारसंहिता अपूरो र अधुरो रहेको बताए । उनले पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई मात्र आचारसंहिता लाग्ने तर अनलाइनका बारेमा कस्ता सामग्री प्रचारप्रसार गर्ने भन्ने बारेमा उल्लेख नभएको बताए ।

कार्यक्रमको संयोजन पत्रकार नित्यानन्द मण्डलले गरेका थिए ।