जनकपुरधाम, २२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार अजय यादवले घरदैलो गरेका छन् ।

बिहीबार वडा नम्बर–१ राजदेवी मन्दिर टोलमा घरदैलोको क्रममा यादवले बृद्ध बृद्धाको आशिर्वाद थाप्नुका साथै आफूभन्दा कान्छोको शुभेच्छा ग्रहण गरेका हुन् ।

यादवले पालिका भित्रका समस्याहरुलाई क्रमबद्ध रुपमा समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफू निर्वाचित भए अल्पकालिन, मध्यमकालिन र दिर्घकालिन योजना बनाएर काम गर्ने प्रतिवद्धता जनाए ।

उनले विद्यालयको सुधारसँगै विद्यालय बाहिर रहेका अति विपन्न तथा गरिब परिवारको बालबालिकालाई विद्यालयसम्म पुर्याउने वातावरणको निर्माण गर्ने बताए ।

उनले भने, ‘गाउँपालिकाको विकास कसरी गर्न सकिन्छ त्यसको मसँग खाका छ, मलाई एक पटक अवसर दिएर हेर्नुस ।’

यादवले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफु जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थपना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लागु गर्ने लगायतका प्रतिबद्धता जनाए ।