जनकपुरधाम, २२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले आफू निर्वाचित भए कृषि क्षेत्रमा आधुनिकिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बिहीबार घरदैलोको क्रममा महतोले जनकपुरधाममा कृषिलाई आधुनिक प्रविधिसँग जोडेर कृृषकहरुलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

वडा नम्बर–२३ बिन्धी, वडा नम्बर–४ र ७ माछा बजार, वडा नम्बर–२० देवपुरा रुपैठामा मतदातासँग भेटघाट गर्दै महतोले जनकपुरधामको ग्रामीण वडाका अधिकांश व्यक्ति कृषिमा निर्भर रहेकाले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएर कृषकहरुलाई आत्मनिर्भर बनाउने बताए ।

स्थानीय किसानले उत्पादन गरेको सामग्रीको उचित मूल्य पाउन नसकेको समयमा महतोले कृषिलाई आधुनिक प्रविधिसँग जोडेर रोजगारी सिर्जना गर्ने बताए ।

उनले भने, ‘किसानहरुले उत्पादन गरेको सामग्री उचित मूल्य पाउन नसक्नुको मूल कारण समयमा बजारसम्म पुग्न नसक्नु र विचौलियाहरुको आतंक हो ।’

आफू निर्वाचित भए किसानहरुको उत्पादन बजारसम्म पुर्याउने र बिचौलियाहरुको बिगबिगी अन्त्य गर्ने उनले बताए ।

महतोले फलफूल व्यापारीहरुसँग समेत भलाकुसारी गरेका छन् । फलफूल व्यपारीहरुलाई व्यापार गर्न नगरभित्र समस्या भइरहँदा महतोले यसको समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका छन् ।