मिसन र भिजनका साथ वडाको विकास गर्ने निरजको प्रतिबद्धता

जनकपुरधाम, २२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार निरज कुमार साह (मुन्ना)ले आफू निर्वाचित भए वडाको सर्वांगिन विकासका लागि ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार आफ्नो वडामा घरदैलोका लागि पुगेका निरजले आफू निर्वाचित हुँदा मिसन र भिजनका साथ वडाको विकास गर्नुका साथै भ्रष्टाचारमुक्त गर्ने, सरकारी विद्यालयलाई उच्च शिक्षास्तरको बनाउने प्रतिबद्धता जनाएका हुन् ।
उनले वडाभित्रको मठमन्दिर, पोखरी, मस्जीद सौन्दर्यीकरण गर्ने, प्राथमिक स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टर बनाउन पहल गर्ने, सार्वजनिक जग्गालाई भूमाफियाबाट संरक्षण गर्ने, वडाबासीको एक एक समस्यालाई समाधान गर्ने, लामखुट्टे रहित वडा बनाउनेलगायतका प्रतिबद्धता समेत जनाए ।

निरजले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइटको व्यवस्थापन गर्न पहल गर्नुका साथै बृद्धभत्ता, एकल महिला भत्ता समयमै उपलब्ध गराउने, जनकपुरधाम उद्योग वाणिज्य संघसँग समन्वय गरेर व्यवसायीलाई तालिम र व्यवसायीक क्षमता अभिवृद्धिका लागि पहल गर्न सदैव कटिबद्ध रहने समेत बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


